फागुन महिनामा मात्रै सवारी दुर्घटनामा परि मधेस प्रदेशमा ४८ जनाको मृत्यु

जनकपुरधाम, ९ चैत । पछिल्लो समय मधेस प्रदेशमा सवारी दुर्घटनाका घटनामा वृद्धि भएको छ । यस प्रदेशमा साना तथा ठूला सवारी साधनहरु निरन्तर दुर्घटनामा परिरहेका हुन्छन् ।
यसैबीच गत फागुन महिनामा मात्रै सडक सवारी दुर्घटनामा परि यस प्रदेशमा ४८ जनाको मृत्यु भएको छ ।
फागुनमा प्रदेशका ८ वटा जिल्लामा भएका विभिन्न ६१० वटा सवारी दुर्घटनामा परि ४८ जनाको मृत्यु भएको छ भने अन्य ९९२ जना घाइते भएको मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।
दुर्घटनामा महोत्तरीमा सबैभन्दा बढी ९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, सर्लाहीमा ८ र धनुषा, सिरहा तथा रौतहटमा ७–७ जनाको मृत्यु भएको हो । यस्तै, बारामा ५, सप्तरीमा ४ र पर्सामा १ जनाको मृत्यु भएको मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
गत फागुन महिनामा धनुषामा सबैभन्दा बढी ११९ सवारी दुर्घटना भएको छ । सर्लाहीमा १०२, सप्तरीमा ८४, रौतहटमा ७६, महोत्तरीमा ७४, सिरहामा ६८, बारामा ६६ र पर्सामा २१ वटा सवारी दुर्घटना भएको ट्राफिक प्रहरीको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
फागुनमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको तथ्यांक छ । दुर्घटनामा परेका साधनमध्ये मोटरसाइकल ५७३, जीप, कार ७७ र टिपर÷ट्याक्टर ६६ वटा रहेको छ ।
मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार अधिकांश दुर्घटना चालकले मदिरा सेवन गरेर सवारी हाक्नाले हुने गरेको छ । ‘चालकले मादक पदार्थ सेवन गर्ने, तीव्र गतिमा सवारी साधन हाँक्ने, ट्राफिक नियमको उल्लंघन गरेर सवारी साधन चलाउने गर्नाले दुर्घटना बढेका हुन् । पक्की सडकको तुलनामा ग्रामीण कच्ची सडकमा सवारी दुर्घटना बढी हुने गरेका छन् ।’
पछिल्लो एक दुई महिनामा भएका सवारी दुर्घटना परी दर्जन बढीको ज्यान गएपछि अहिले सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीले चेकजाँच बढाई सचेतना अभियान सञ्चालन गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


