काठमाडौं, ९ चैत । केही विज्ञहरूले कोभिडविरुद्धको खोप पनि फ्लूविरुद्धझैँ प्रत्येक वर्ष लगाउनुपर्ने बताएका छन् ।

जनस्वास्थ्य विज्ञहरू स्पष्ट नभइरहेका बेला केही विज्ञहरूले भने कोरोनाविरुद्धको खोप बर्सेनि आवश्यक हुने बताएका हुन् ।

‘नियन्त्रणमा राख्न हामीलाई निश्चित अवधिमा खोप आवश्यक पर्छ जस्तो देखिन्छ’, रोजालिन्ड फ्र्याङ्कलिन विश्वविद्यालयको सिकागो मेडिकल स्कूलकी डिन डा. अर्चना चटर्जीले भन्नुभयो, ‘अहिले नै यो बर्सेनि वा हरेक दुई वा पाँच वर्षमा हुन्छ ठ्याक्क थाहा त छैन । त्यो अझै थप तथ्याङ्क हेरेर थाहा हुन्छ । तर मलाई लाग्छ कि यसलाई नियन्त्रण गर्न निश्चित अवधिमा खोप आवश्यक पर्छ ।’

डा. चटर्जी अमेरिकाको खाद्य तथा औषधी नियामक निकाय एफडीए तथा त्यससँग सम्बन्धित विज्ञ सल्लाहकार समितिको सदस्य पनि रहेको सीएनएनमा समाचार छ । यद्यपि उहाँले आफूले राखेको विचार व्यक्तिगत रहेको बताए ।

कोभिडको बुस्टर तथा कति पटक आवश्यक पर्न सक्छ भन्ने विषयमा सो समितिको बैठक पनि अप्रिल ६ मा बस्ने तय भएको बताइएको छ ।