जनकपुरधाम, ९ चैत । मधेस प्रदेशको प्रदेशसभा बैठक चौथो पटक स्थगित भएको छ ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक चौथो पटक स्थगित भएको हो ।

अर्को बैठक शुक्रवार दिउँसो २ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसअघि फागुन २२ गतेका लागि बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जीत यादवले एक सूचना जारी गर्दै विशेष कारणवस बैठक स्थगित भएको जनाएका छन ।

फागुन १ गते, १० गते र २२ गतेका लागि बोलाइएको बैठकसमेत स्थगित गरिएको थियो । फागुन १ गते जनयुद्ध दिवस मनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुरधाम आएका थिए भने १० गते बोलाइएको बैठकको समयमा सभामुख सरोज कुमार यादव सभामुखहरुको सम्मेलनमा पोखरा गएका थिए ।

त्यस्तै, फागुन २२ गते बोलाइएको बैठक नेपाली कांग्रेसको अधिवेशन चलिरहेको र गण्डकी प्रदेशका मुख्यमन्त्रीलगायतका व्यक्तिहरु मधेश प्रदेशको भ्रमणको क्रममा रहेकाले स्थगित गरिएको थियो ।