कञ्चनपुर, ८ चैत । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ३५ जनामा सिकलसेल एनिमियाको ट्रेट (बाहक)फेला परेको छ ।

शुक्लाफाँटा नगरपालिका वडा नम्बर–८ नौखरीमा ४२७ जनाको रगत परीक्षण गर्दा ३५ जनामा ट्रेट फेला परेको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाले सिकलसेल एनिमिया र थाल्सेमिया पहिचान तथा निदान शिविरको निःशुल्क परीक्षण गरेको थियो ।

बाहक फेला परेका व्यक्तिहरूको रगतलाई पुनः परीक्षणका लागि कैलालीको सेती प्रादेशिक अस्पतालमा पठाइएको छ । उनीहरुको रिपोर्ट सात दिनपछि आउने स्वास्थ्य शाखाका सिनियर अहेब अधिकृत हरि नाथले बताए ।

सिकलसेल भएका व्यक्तिको शरीरका विभिन्न अंगहरूमा अक्सिजनसहितको रातो रक्तकोष पर्याप्त मात्रामा पुग्न नसक्दा फोक्सो, मिर्गौला, फियो तथा मस्तिष्कलगायतका अंगहरूमा क्षति पु¥याउनुका साथै स्वास्थ्यमा गम्भीर असर पुर्याउने गर्छ ।