चीनमा विमान दुर्घटना भएको घण्टौ बितेपनि कोही जीवित फेला परेनन्

एजेन्सी, ८ चैत । चीनको दक्षिण प्रान्तमा विमान दुर्घटना भएको घण्टौ बितेपनि कसैलाई जीवित फेला पार्न नसकेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।
१२३ यात्रु र चालक दलका ९ सदस्य सवार चाइना इस्टर्न एयरलाइन्सको बोइङ–७३७ विमान कुन्मिङबाट गुआनझाओ जाने क्रममा दक्षिणी प्रान्तको पहाडी क्षेत्रमा सोमबार दुर्घटना भएको थियो ।
दुर्घटनास्थलमा उद्धार तथा खोज कार्यलाई तीव्रता दिंदा पनि अहिलेसम्म कोही जीवित नभेटिएको साउथ चाइना मोर्निङ पोष्टले जनाएको छ ।
दुर्घटनाको सूचना पाएलगत्तै चिनियाँ सुरक्षाकर्मी र अग्नि नियन्त्रक टोली परिचालन गरिएको थियो । कोही घाइते भेटिन सक्ने अनुमानमा दर्जनौं एम्बुलेन्स तयारी अवस्थामा राखिएको थियो । तर हताहतीको पुष्टि भएको छैन ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार पहाडी क्षेत्रमा बिजुलीको प्रवन्ध नहुँदा उद्धार कार्य प्रभावित भएको थियो । सञ्चार प्रवन्धका लागि एक ड्रोन बेससमेत स्टेशन स्थापना गरिएको थियो ।
विमान दुर्घटनाको कारण खुलेको छैन । घटनास्थलमा विमानको ब्ल्याक बक्स फेला परेको र अनुसन्धान जारी रहेको चिनियाँ समाचार एजेन्सीहरुले जनाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


