जनकपुरधाम, ८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको हैसियत अनुसार मन्त्रिमण्डलमा हिस्सा खोजेका छन् ।

प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन मंगलबार जनकपुरधाम आएका उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्रिमण्डल हेरफेरको सम्भावना रहेकोले सरकारमा आफ्नो पार्टीको हैसियत अनुसार हिस्सा मागेका हुन् ।

प्रचण्डले माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउने विषयमा प्रधानमन्दी देउवा सहमत रहेको बताए ।

उनले भने,‘मन्त्रीमण्डलमा हेरफेरको कुरा चलिरहेको छ । औपचारीक रुपमा नटुङ्गिए पनि केही मन्त्रालय हेरफेर हुने सम्भावना छ, केही नयाँ आउने सम्भावना पनि छ’, उनले अगाडी भने, ‘मैले प्रधानमन्त्री जिसँग भनिरहेको छु । गठबन्धनमा सबैभन्दा बढी त्याग माओवादी केन्द्रले गरेको छ । हामीले पाउनुपर्ने जति मन्त्रालय पाएको छैन् ।’

उनले अब माओवादी केन्द्रलाई सहयोग गर्न सबैदलसँग आग्रह गरे ।

स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न माओवादी केन्द्र तयार भएपनि कुन दलसँग गर्ने त्यो भने टुङ्गो नलागेको समेत उनले बताए ।