जनकपुरधाम, ८ चैत । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले तत्काल सरकारमा जाने विषयमा पार्टीमा आन्तरिक निर्णय नभएको बताएका छन् ।

लोसपा सरकारमा शामिल हुन लागेको चर्चाका बिच अध्यक्ष ठाकुरले अहिले सरकारमा जाने विषयमा आफूहरुले कुनै प्रकारको निर्णय नगरेको बताएका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टीको मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई उदघाटन गर्दै ठाकुरले वर्तमान सरकार आफूहरुको माग सम्बोधन गर्ने विषयमा लचकता अपनाउने प्रतिवद्धता व्यक्त नगरेसम्म सरकारमा शामिल हुने कुनै छाँटकाँट नरहेको बताए ।

ठाकुरले वर्तमान सरकारसंग नागरिकता सम्बन्धी मुद्दा, मधेश आन्दोलनको क्रममा लगाइएका झुठा मुद्दाहरु लगायतको विषयमा छलफल चलिरहेको बताए ।

उनले नागरिकता सम्बन्धि मुद्दा समाधान गर्नका लागि कानूनी जटिलता हटाउने, मधेश आन्दोलनको क्रममा लगाइएका झुठा मुद्दा हटाउने विषयमा सरकारले गम्भिरता देखाए मात्रै सरकारमा शामिल हुने विषयमा विचार गर्न सकिने बताए ।