जनकपुरधाम, ७ चैत । धनुषामा कोरोनाविरुद्धको मोडर्ना खोप लगाउँदा एउटै विद्यालयका १० जना विद्यार्थी बिरामी परेको बताइएको छ ।

जिल्लाको धनुषाधाम नगरपालिका–७ मा सञ्चालित मेरी गोल्ड सेकेण्ड्री बोर्डिङ्ग स्कुलका १० जना विद्यार्थी खोप लगाउँदा बिरामी परेका हुन् ।

विद्यालयका शिक्षक इन्ददीप साहले अत्यधिक टाउको दुख्ने, रिंगटा लाग्ने, श्वासप्रश्वासमा समस्या भएर एकाएक बेहोस् हुने जस्ता लक्षण उनीहरुमा देखिएको जानकारी दिएका छन् । सिकिस्त विद्यार्थीहरु ६ कक्षाभन्दा माथिका रहेको उनले बताए ।

उनले भने,‘आइतबार दिउँसो विद्यालयका झण्डै ३ सय विद्यार्थीलाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाइएको थियो । सोमबार बिहान १० बजे विद्यालय आउँदा एकाएक १४ जना विद्यार्थी बेहोस भए । जसमध्ये १० जना बढी सिकिस्त छन् । ४ जना बिद्यार्थी स्थानीय स्तरमै उपचार पश्चात घर फर्किसकेका छन् ।’

धनुषाधाम नगरपालिका वडा नं. ८ का हेल्थपोस्टका स्वास्थ्यकर्मी विद्यालय पुगेर विद्यार्थीहरुलाई खोप लगाएका थिए । उनीहरुलाई प्राथमिक उपचारपश्चात थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।