भारतको बिहारमा विषालु मदिरा सेवन गरेर ३२ जनाको मृत्यु

एजेन्सी, ७ चैत । भारतको बिहारमा होली पर्वमा विषालु मदिरा सेवन गरेर ३२ जनाको मृत्यु भएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार भारतको बिहारमा होली मनाउने क्रममा विषालु मदिरा सेवन गरेका मध्ये बिहारका विभिन्न जिल्लामा ३२ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भागलपुरका १६, बाँकाका १२, मधेपुराका ३ र नालंदका १ जना रहेका छन् ।
विषादियुक्त मदिरा सेवनबाट दर्जनौं व्यक्ति बिरामी भएकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाइएको छ ।
अनाधिकारिक रूपमा उत्पादित मदिरा सेवनका कारण भागलपुरमा २, बाँकामा ६ र मधेपुरामा दर्जनबढी व्यक्ति गम्भीर बिरामी भएका छन् ।
बिहारमा सन् २०१६ देखि अनाधिकारिक रूपमा उत्पादन हुने रक्सीको बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
रक्सी खाएर मृत्यु भएको भनिएका उनीहरूको पोष्टमोर्टम रिपोर्ट आउन अझै बाँकी रहेकोले अहिल्यै मृत्युको कारण भने पुष्टि भईनसकेको बिहार प्रहरीले जनाएको छ ।
यसैबीच घटनाको विरोधमा स्थानीयले प्रदर्शनसमेत गरेका छन् । उनीहरूले प्रहरी र व्यवसायीबीचको मिलेमतोमा घटना भएको भन्दै स्थानीय प्रहरी विरुद्ध प्रदर्शन भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


