पर्सा, ७ चैत । मधेस प्रदेश सरकारले पर्साको ठोरी गाउँपालिकालाई ‘पर्यटकीय क्षेत्र’ घोषणा गर्ने भएको छ ।

चैत ११ वा १२ गते ठोरीमा बस्ने मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले ठोरी गाउँपालिकालाई ‘पर्यटकीय क्षेत्र’ घोषणा गर्ने तयारी रहेको सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले बताए ।

मधेस सरकारले ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गर्न लागेको ठोरी गाउँपालिकाका अध्यक्ष पीएल श्रेष्ठले जानकारी दिए । यसले ठोरी गाउँपालिकाको पर्यटकीय क्षेत्रहरुलाई व्यवस्थित गर्न सहयोग मिल्ने उनले बताए । उनले भने, ‘मधेस सरकारले पर्यटकीय क्षेत्र घोषणा गरेपछि बजेट, कार्यक्रम ल्याउँछ, त्यसले यहाँका पर्यटकीय क्षेत्रको व्यवस्थापनमा सहयोग पुग्छ ।’

अंग्रेजी नयाँ वर्षको दिन भारतको पटना, बेतिया, समस्तीपुर, मुजफ्फरपुर, मोतीहारी, नरकटियागञ्ज आसपासका क्षेत्रका बासिन्दा ठोरी घुम्न र वनभोज खान आउने गरेको स्थानीय बताउँछन् । ठोरी गाउँ घुम्न आउने भारतीय पर्यटकको संख्या वर्षेनी बढ्दै गएको छ ।

नेपालको चितवन, बारा, पर्सा, रौतहट, सर्लाही, धनुषालगायतका जिल्लाका बासिन्दा पनि ठोरीमा घुम्न र वनभोज खान पुग्ने गरेको गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताए ।

ठोरी तराई–मधेसको आकर्षक पर्यटकीय गन्तव्यका रुपमा परिचित छ । ठोरीमा राईधारा, सेतो पहाड, गोले डाँडा, रातो पहाड, सिनेही पहाड, रानीवन, अमृतधारा, चिसापानी, सीतागुफा, वनशक्ति मन्दिर, बाघमोर्चा मन्दिर, सीता गुफा, सिकारीबास लगायत ५० भन्दा बढी पर्यटकीय स्थल रहेको छ ।