दमक गोल्डकप फुटबलको खेल तालिका सार्वजनिक

झापा, ६ चैत । झापामा आयोजना हुने दमक गोल्डकप फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।
आयोजक नगर खेलकुद विकास समिति दमकले चैत ९ देखि १८ गतेसम्म आयोजना हुने गोल्डकपको खेल तालिका सार्वजनिक गरेको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक दमक–११ र बागमती युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
दमक नगरपालिका–३ दुम्सेस्थित प्रस्तावित मदन भण्डारी रंगशालामा हुने गोल्डकपमा ३ ‘ए’ डिभिजन, ४ विदेशीसहित १० टोलीको सहभागिता रहनेछ ।
प्रतियोगितामा त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, बागमती क्लब सर्लाही, आयोजक दमक–११, गोर्खा ब्वाइज क्लब रुपन्देही, भारतको मानेभञ्ज्याङ फुटबल क्लब, दुर्गापुर स्टील कोलकात्ता, पुलिस क्लब इन्डिया र एमेनियर फुटबल क्लब क्यामरुन सहभागी छन् ।
प्रतियोगिताको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइनेछ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही नगद २१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


