एजेन्सी, ६ चैत । दक्षिणी बेल्जियममा एउटा कार भीडमा जोतिँदा ६ जनाको मृत्यु भएको छ । यो घटना राजधानी ब्रसेल्सबाट करिब पचास किलोमिटर टाढा एउटा इलाकामा भएको हो ।

करिब ६० जना आइतबारको एक कार्निवालमा समावेश हुने तयारी गरिरहेका बेला उनीहरुमाथि तीब्र गतिको कार चढ्यो ।

प्रहरीका एक प्रवक्ताले बीबीसीसँगको कुराकानीमा दुर्घटनामा थुप्रै जना घाइते भएको जसमध्ये केहीको स्थिति गम्भीर भएको बताएका छन् ।

यो घटनाको परिस्थितिको अनुसन्धान गरिँदैछ तर प्रहरीले यो आतंकवादी घटना नभएको बताएका छन् ।

प्रहरीकी प्रवक्ता क्रिस्टिना इयानोले भनिन्, ‘यो एक दुर्घटना हो, एक दुःखद दुर्घटना । कार मानिसमाथि चढ्यो र अघि बढ्ने कोसिस गर्यो तर प्रहरीले त्यसलाई तुरुन्त रोक्यो ।’

प्रहरीका अनुसार कारका ड्राइभर र अन्य सवारलाई हिरासतमा राखिएको छ । बेल्जियम मिडियाले यो दुर्घटना प्रहरीको कारको पिछा गर्ने क्रममा भएको बताएका थिए । यसलाई प्रहरीले खण्डन गरेको छ ।