गैरआख्यान पुस्तक ‘क्लोज–अप’ सार्वजनिक

काठमाडौं, ६ चैत । नेपाली चलचित्रका केही आयाम र पात्रमा आधारित गैरआख्यान पुस्तक ‘क्लोज–अप’ सार्वजनिक गरिएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच चलचित्र पत्रकार जीवन पराजुलीद्वारा लिखित पुस्तकको सार्वजनिक भएको हो ।
पुस्तकलाई अभिनेत्री करिश्मा मानन्धर, निर्देशक तथा अभिनेत्रीद्वय दीपाश्री निरौला र झरना थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, निर्देशक नारायण पुरी, कवि एवं फिल्म निर्देशक राजेन्द्र शलभ लगायतले संयुक्त रूपमा सार्वजनिक गरे ।
निर्देशक राजेन्द्र शलभले पुस्तकमाथि टिप्पणी गर्दै ‘क्लोज–अप’ एउटा राम्रो दस्तावेज भएको बताए । उनले नेपाली फिल्मलाई नजिकबाट जान्न र बुझ्न चाहनेहरुका लागि उपयोगी हुने धारणा राखे ।
निर्देशक शलभले पुस्तकको अर्को भाग पनि आउन आवश्यक रहेको र छुटेका अन्य पात्रहरूका अनुभवलाई समेट्न लेखकलाई सुझाव पनि दिए ।
अभिनेत्री करिश्मा मानन्धरले डिजिटलको युगमा धेरै कुरा इन्टरनेटबाट थाहा पाउन सकिने भए पनि किताबमाजस्तो विश्वास आफूलाई अरूमा नलाग्ने बताइन्। निर्देशक तथा अभिनेत्री झरना थापाले ‘क्लोज–अप’ले नेपाली चलचित्रकर्मीलाई प्राण भरिदिएकोमा खुसी व्यक्त गरिन् ।
चलचित्र विकास बोर्डका अध्यक्ष दाहालले ‘क्लोज–अप’लाई उत्कृष्ट र सुन्दर सुरुवातको रुपमा व्याख्या गर्दै नेपाली फिल्म पत्रकारिता सतहीमात्र भएको अवस्थामा विश्लेषणात्मक लेखसहितको पुस्तकले चलचित्र पत्रकारितालाई नै नयाँ ढंगबाट लैजाने विश्वास लिएको बताए ।
लेखक पराजुलीले पुस्तकमा धेरै पाटो र पात्रहरू समेटिन छुटेको भए पनि चलचित्रको इतिहास झल्किने घटना र सम्बन्धित पात्रका व्यक्तित्वलाई समेटर अरू पुस्तक पनि क्रमशः लेख्दै जाने बताए ।
ठुलोपर्दा मिडियाले प्रकाशन गरेको पुस्तकलाई किताब यात्राले अनलाइन बजार व्यवस्थापन गरेको छ । युरोपका विभिन्न देश र थाइल्यान्ड, भारत, दक्षिण कोरिया, अष्ट्रेलिया लगायतका देशमा पनि सार्वजनिक गर्ने तयारी गरेको जनाइएको छ ।
५९९ रुपैयाँ मूल्य रहेको पुस्तक यसै साताबाट देशभर तथा अमेजनमार्फत् संसारभर उपलब्ध हुने जनाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


