एजेन्सी, ५ चैत । आफ्ना हवाई रक्षकहरूले रुसका कम्तीमा १२ रुसी हवाई निशाना ध्वस्त पारिदिएको युक्रेनको सशक्त फौजले दाबी गरेको छ ।

युक्रेनी फौजले रुसका दुई विमान, तीन ओटा हेलिकोप्टर, तीन ओटा ड्रोन र चारवटा क्रुज मिसाइल ध्वस्त पारिदिएको दाबी गरेको हो ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विलम्ब नगरी वार्ताको टेबुलमा बस्न रुसलाई आह्वान गरेका छन् ।

रुसी गोलाबारीले अझै पनि मारिउपोलबाट प्रभावकारी मानवीय करिडोर स्थापना गर्न रोकिरहेको राष्ट्रपति उनले बताए ।

रुसले २४ फेब्रुवरीदेखि युक्रेनमाथि हमला जारी राखेको छ । रुसी हमलामा २५ लाखभन्दा बढी युक्रेनीले देश छोडेर विभिन्न मुलुकमा शरण लिएका छन् । रुसी हमलामा सयौंको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झन्डै १०० जना बालबालिका रहेको अनुमान गरिएको छ ।

हमलाका कारण दैनिक सयौं बालबालिका विस्थापित हुने गरेको विभिन्न विवरणहरूमा जनाइएको छ ।