आइसिसी महिला विश्वकप : वेस्ट इण्डिजको रोमाञ्चक जित

एजेन्सी, ४ चैत । आइसिसी महिला एक दिवसीय विश्वकप अन्तर्गत शुक्रबार सम्पन्न खेलमा वेस्ट इण्डिज विजयी भएको छ ।
तेस्रो जित निकाल्ने क्रममा वेस्ट इण्डिजले बंगलादेशमाथि ४ रनको रोमाञ्चक जित हात पारेको हो ।
१४१ रनको लक्ष्य पछ्याएको बंगलादेश ३ बल बाँकी छँदा सबै विकेट गुमाउँदै १३६ रनका समेटियो ।
बंगलादेशका लागि नाहिदा अख्तरले अविजित २५ रनको योगदान दिइन् । कप्तान निगार सुल्तानले २५ र फरगाना हकले २३ रन जोडे ।वेस्ट इण्डिजका लागि हेली म्याथ्युजले ४, एफाइ फ्लेचर र कप्तान स्टेफनी टेलरले ३–३ विकेट हात पारे ।
यसअघि न्युजिल्यान्डको माउन्ट मौन्गानुइस्थित बे ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इण्डिजले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १४० रन बनाएको थियो ।
वेस्ट इण्डिजका लागि शेमेन क्याम्पबेलले अर्धशतकीय पारी खेलिन् । १०७ बलको सामान गरेकी उनले ५ चौकासहित अविजित ५३ रन बनाइन् ।
हेली म्याथ्युजले १८ तथा डियन्द्रा डोटिन र एफाइ फ्लेचर १७–१७ रनको योगदान दिए ।
बंगलादेशका लागि सलमा खातुन र नाहिदा अख्तरले २–२ तथा जहाँरा आलम, रुमाना अहमद र ऋतु मोनीले १–१ विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
यो जितसँगै ५ खेलमा ६ अंकका साथ वेस्ट इण्डिज तेस्रो स्थानमा उक्लिँदा बंगलादेश ४ खेलमा २ अंक जोडेर सातौं स्थानमा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


