फुटबलतर्फ मकवानपुर र ललितपुर फाइनलमा प्रवेश

हेटौंडा, ४ चैत । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिताको फुटबलतर्फ मकवानपुर र ललितपुर फाइनलमा प्रवेश गरेको छ ।
आज भएको पहिलो सेमीफाइनल खेलमा ट्राइवेकरमा ललितपुरले ५–३ गोलअन्तरले धादिङलाई हराउँदै फाइनल प्रवेश गरेको छ ।हेटौंडाको क्याम्पा रंगशालामा जारी खेलमा निर्धारित समयमा गोल हुन नसकेपछि खेल ट्राइवेकरमा गएको थियो ।
त्यस्तै, दोस्रो खेलमा मकवानपुर फाइनल प्रवेश गरेको छ । घरेलु मैदानमा दोलखालाई ५–१ गोलअन्तरले हराउँदै मकवानपुर फाइनल प्रवेश गरेको हो ।
मकवानपुरका लागि १४ मिनेटमा समिरराज थोकरले पहिलो गोल गरेका थिए । खेलको ३४ मिनेटमा मकवानपुरका ललित चौलागाईंले थप एक गोल थपेका थिए ।
खेलको दोस्रो हाफमा दोलखाका स्वयम् श्रेष्ठले ५३ मिनेटमा मकवानपुरलाई एक गोल फर्काएका थिए । मकवानपुरको तर्फबाट ५५ मिनेटमा समिरराज थोकरले थप एक गोल गरेका थिए ।
खेलमा मकवानपुरका लागि अमिर श्रेष्ठ र अनिष महर्जनले थप एक÷एक गोल गर्दै ५–१ को गोलअन्तरले मकवानपुर फाइनल प्रवेश गरेको हो । आइतबार दिउँसो ३ बजे फाइनल खेलमा मकवानपुर र ललितपुरबीच प्रतिस्पर्धा हुनेछ । खेल नकआउट चरणमा खेलाइएको थियो ।
क्रिकेटमा मकवानपुर र काभ्रे सेमिफाइनल प्रवेश
चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पुरुष तर्फको जारी क्रिकेट खेलमा मकवानपुर र काभ्रे सेमिफाइनल प्रवेश गरेको छ । आज भएको पहिलो खेलमा काभ्रे ८ विकेटले विजयी भएको छ ।
भक्तपुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । काभ्रेले १२.५ ओभरमै २ विकेट गुमाउँदै १ सय ३३ रन बनाएको थियो ।
त्यस्तै, दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको मकवानपुरले १९.१ ओभरमा सबै विकेट गुमाएर ललितपुरलाई १ सय ५८को लक्ष्य दिएको थियो । ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर ८४ रन मात्रै बनाएको थियोे ।
शनिबार दुई खेल हुनेछ । पहिलो खेल धादिङ र काठमाडौं तथा दोस्रो खेल नुवाकोट र चितवनबीच हुनेछ ।
भोलिबाट तेक्वान्दो
मकवानपुरमा भोलिबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । प्रतियोगितामा १३ जिल्लाकै सहभागिता रहेको छ ।
काठमाडौंमा चैत्र ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुनेछ भने सिन्धुपाल्चोकमा चैत्र ७ गतेबाट कराँते खेल हुने परिषदले जनाएको छ ।त्यस्तै, काभ्रेमा भने चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल प्रतियोगिता हुने छ ।
प्रतियोगिताको लागि आठ करोड ४ लाख रकम खर्च हुने अनुमान गरेको छ । विभिन्न खेलमा करिब २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउनेछन् ।
खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


