काठमाडौं, ४ चैत । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपालले जित हात पार्ने सम्भावना देखिएपनि नेपाली क्रिकेट टिमले यो आशालाई निराशामा बदलेको छ ।

पहिले फिल्डिङ गरेको नेपालले पाएको लक्ष्य मध्यम थियो । युएईसँग उसकै मैदानमा फिल्डिङ गर्न उत्रिएको नेपालका बलरले राम्रो प्रदर्र्शन गरेका थिए । तर, अन्तिमसम्म खेल राम्रो हुन नसक्दा नेपाल युएईसँग ४८ रनले पराजित भएको छ ।

१ सय ६९ रनको लक्ष्य पछ्याएको नेपालले ३१.१ ओभरमा नै सबै विकेट गुमायो । नेपालले सबै विकेट गुमाउँदा स्कोरबोर्डमा जम्मा १ सय २० रन जोडियो ।

नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४६ रनको योगदान दिए । ६० बलको सामना गरेका उनले ४ चौका प्रहार गरे । खेलमा ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेल सस्तैमा समेटिए । यी दुईले क्रमशः २८ र ११ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न समेत सकेनन् ।

नेपालका लागि तेस्रो विकेटका लागि रोहित र ज्ञानेन्द्रले ५५ रनको साझेदारी गरेका थिए ।

युएईका लागि बलिङमा बसिल हमिदले ४, जुनैद सिद्दिकीले ३ र जाहोर खान र रोहन मुस्ताफाले १–१ विकेट हात परे । १ विकेट रन आउट भयो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको युएईले ४६.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो ।

युएईका लागि रोहन मुस्ताफा र चन्दनग्पोयल रिजवानले ४०–४०, मोहम्मद वसिमले २१ र कासिफ दाउदले १८ रनको योगदान दिए । पाँचौ विकेटका लागि रोहन र चन्दनग्पोयलले ७७ रनको साझेदारी गर्दै युएईको पारी उकासेका थिए ।

नेपालका लागि सोमपाल कामीले ४, करण केसीले ३ तथा सागर ढकाल, कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट हात पारे ।

यो जितसँगै १६ खेलमा २० अंक जोडेको युएई दोस्रो तथा पराजित नेपाल १० अंकका साथ छैटौं स्थानमा यथावत रहेका छन् ।
नेपालले फेरि सोमबार युएईसँग खेल्दैछ ।