काठमाडौं, ४ चैत । नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका पल शाहलाई तनहुँको जिल्ला अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

शुक्रबार जिल्ला अदालत तनहुँले अनुसन्धान गर्न थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो । यो पल शाहलाई हिरासतमा राख्न तेस्रो पटक समय थप गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक युवराज खड्काले दिएको जानकारी अनुसार प्रहरीले उनीविरुद्धको अभियोग पत्र लगभग अन्तिम चरणमा पुर्याइसकेको छ ।

पल १५ फागुनमा आफैं जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेका थिए । उनीविरुद्ध १७ वर्षकी गायिकाले आफूलाई अनेक प्रलोभन देखाएर पटक पटक बलात्कार गरेको आरोप लगाएकी छिन् ।

पीडित पक्षले दिएको उजुरीमा शाहले माया प्रेमको जालमा फसाएर र विवाह गर्छु भन्ने प्रलोभन देखाएर बलात्कार गरेको आरोप लगाइएको छ । यसअघि बिहीबार मात्रै नवलपुर जिल्ला अदालतमा उनीविरुद्ध बलात्कारको मुद्दा दायर भएको थियो ।

नवलपुरमा उनलाई १२–१४ वर्षको कैद सजायको मागदाबी गरिएको छ । त्यस्तै, उनले ४ लाख क्षतिपूर्ति दिनु पर्ने पनि उल्लेख गरिएको छ ।