एजेन्सी, ३ चैत । इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिगको अन्तिम–१६ बाटै बाहिरिएको छ । बिहीबार बिहान घरेलु मैदानमा भएको दोस्रो लेगमा पराजित भएसँगै युभेन्टस लिगबाट बाहिरिएको हो ।

स्पेनको भिल्लारियलसँग ३–० तथा समग्रमा ४–१ ले पराजित हुँदा युभेन्टसले अघिल्लो चरण प्रवेश गर्ने सम्भावना गुमायो । एलियन्ज स्टेडियममा भएको खेलमा भिल्लारियललाई जित दिलाउन जेरार्ड मोरेनो, पाउ टोरेस र एर्नाउट डानजुमाले १–१ गोल गरे ।

खेलको ७८ औं मिनेटमा मोरेनोले पेनाल्टीमार्फत गोल गर्दै भिल्लारियललाई अग्रता दिलाएका थिए । रुगानीले फ्रान्सिस कोक्विलिनलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै भिल्लारियललाई पेनाल्टी प्रदान गरेका थिए ।

८५ औं मिनेटमा टोरेसले सर्जी औरिएरको पासमा गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर पारे । थप गरिएको समयमा डानजुमाले पेनाल्टीमा टोलीका लागि तेस्रो गोल गर्दै भिल्लारियललाई सहज जितका समथ क्वार्टरफाइनल यात्रा तय गराए ।

म्याथिज डि लिग्टले डानजुमालाई नै फउल गर्न पुगेपछि रेफ्रीले पाहुना टोलीलाई दोस्रोपटक पेनाल्टी दिएका थिए । भिल्लारियलको घरेलु मैदान स्टेडियो डि ला सिरामिकामा भएको पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो ।