एजेन्सी, ३ चैत । इंग्लिस प्रिमियर लिगमा बिहीबार बिहान सम्पन्न खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले घरेलु टोली आर्सनलमाथि २–० को सहज जित हात पारेको हो ।

इमिरेट्स स्टेडियममा लिभरपुललाई जित दिलाउन डिएगो जोटा तथा रोबर्टो फिर्मिनोले १–१ गोल गरे । खेलको ५४ औं मिनेटमा जोटाको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । उनले थिएगो अलकन्तरताको पासलाई सदुपयोग गरेका हुन् ।

६२ औं मिनेटमा एन्ड्रियु रोबर्टसनको पासमा गोल गर्दै फिर्मिनोले पाहुना टोलीलाई २–० को सहज जित दिलाए । यो जितसँगै लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी १ मा झारेको छ ।

समान २९ खेलमा सिटीको ७० र लिभरपुलको ६९ अंक छ । पराजित आर्सनल २७ खेलमा ५१ अंकका साथ चौथो स्थानमा छ ।