जनकपुरधाम, २ चैत । राष्ट्रिय दलको मान्यता नपाएका साना दलले आगामी चुनावमा आफ्नो दलको चुनाव चिन्ह पाउने भएका छन् ।

बुधबार बसेको निर्वाचन आयोगको बैठकले दलको मान्यता नपाएका दललाई उनीहरूको दलको चुनाव चिन्हलाई मान्यता दिने निर्णय गरेको हो ।

योसँगै वृषेशचन्द्र लाल अध्यक्ष रहेको तराई मधेस लोकतान्त्रिक पार्टीलेसमेत आफ्नो दलको चुनाव चिन्हका साथ स्थानीय निर्वाचनमा भाग लिन पाउने भएको छ ।

अध्यक्ष लालले निर्वाचन आयोगको यस निर्णयलाई सराहना गर्दै आगामी निर्वाचनमा आफ्नो पार्टीको चुनाव चिन्ह कलश छापका साथ सहभागी हुने बताए ।

स्थानीय तहको निर्वाचन सम्वन्धी ऐन, तथा नियमावली २०७३ अनुसार आयोगले चुनाव चिन्ह उपलब्ध गराउने गरेको छ ।

स्थानीय तहको निर्वाचनमा सहभागि हुने राष्ट्रिय दल बाहेक अन्य दललाई भने स्थानीय तह निर्वाचन प्रयोजनका लागि सो दलको आफ्नै निर्वाचन चिन्ह प्रयोग गर्न पाउने निर्णय भएको आयोगले जनाएको छ ।