जनकपुरधाम, २ चैत । जनकपुरधामस्थित आयुर्वेद औषधालयमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको देखिएको छ ।

आयुर्वेदप्रतिको विश्वास बढ्दै जानु र औषधालयको स्तरोन्नति हुनुजस्ता कारणले सेवा लिन आउनेको संख्या बढेको हो । विगत भन्दा अहिले आएर आयुर्वेदतर्फ सर्वसाधारणको रुची बढन थालेको छ ।

जनकपुर आयुर्वेद औषधालयमा ५ वर्ष अगाडीसम्म दैनिक १०/२० जना बिरामी उपचारका लागि आउने गर्थे । तर, आजभोलि दैनिक २ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गर्छन् । औषधालयमा फिजियोथेरापी र मौलिक थेरापीअन्तर्गत पूर्वकर्म, पञ्चकर्म थेरापी गर्न आउने बिरामीको संख्या बढेको पाइएको छ ।

जनकपुर आयुर्वेद औषधालयका प्रमुख डा. सिमा झाले विशेष गरेर हड्डीको दुखाईका विरामीहरु अत्याधिक आउने गरेको बताइन् ।कतिपय व्यक्तिहरु भने अन्य उपचार गराएर रोक निको नभएपछि आयुर्वेदतर्फ आउने गरेको नले जानकारी दिइन् ।

निको भएपछि यसको गाउँगाउँमा प्रचार प्रसार गरिएकोले समेत अस्पतालमा विरामीहरु आउने गरेका छन । घरेलु रुपमा आर्यूवेद पद्धतिबाट उपचार गर्नेहरु पनि आजभोलि औषधालयसम्म आइपुग्ने गरेका छन् । स्थानीयका अनुसार विभिन्न ठाउँमा उपचार गराउँदा घुँडाको दुःखाई कम नभएपछि यहाँ उपचार गराउन आएको र विस्तारै यसमा सुधार भएपछि आउने गरेको उनले जानकारी दिइन् ।

विशेष गरेर वृद्धहरु आयुर्वेद अस्पतालमा बढि आउने गरेका छन । नागरिकहरुमा पनि आयुर्वेदभन्दा एलोपेथिक औषधिप्रतिको बढी भरोसा थियो । तर पछिल्लो दुई वर्षयता आयुर्वेदप्रति नागरिकको भरोसा बढ्दै गएको छ । स्रोत र जनशक्ति अभावले सबै क्षेत्रमा सहज रुपमा औषधि वितरण हुन नसकेको औषधालयको गुनासो छ । प्रदेश सरकारले औषधि उत्पादन तथा वितरणका लागि थप बजेट विनियोजन गरे आर्यूवेद उपचारलाई चुस्त बनाउन सकिने औषधालयको भनाइ छ । अस्पतालका प्रमुख डा. सिमा झाले अस्पतालको स्तर वृद्धि गरेर प्रादेशिक अस्पतालको रुपमा लैजानुपर्ने आवश्यकता रहेको जिकिर गरिन् ।

औषधालयमा आउने नागरिकलाई आयुर्वेदिक औषधि, आहारविहार र योग तथा मनोसामाजिक परामर्श दिएर उपचार गरिरहेको औषधालयले जनाउँदै आएको छ । आर्यूवेद पूर्वीय चिकित्सा पद्धति हो । तर, आर्यूवेद चिकित्सा विज्ञानको अध्ययन र अनुसन्धान नहुँदा ओझेलमा पर्ने गरेको छ । औषधालयले उत्पादन गरेको आयुर क्वाथ, गुर्जो, जेष्ठवासादी, याष्टीमधु मिश्रण, अश्वगन्धा, गुडुची अमालाकी चुर्णलगायतका सङ्क्रमणबाट बच्न र रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गरेको थियो ।