जनकपुरधाम, ३० फागुन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारतसँग आँखा मिलाएर कुरा गर्नसक्ने पार्टी एमाले मात्र रहेको दाबी गरेका छन् ।

सोमवार नेकपा एमाले धनुषाको सातौं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै पोखरेलले नेपालकै इतिहासमा भारतसँग आँखा मिलाएर कुरा गर्ने हैसियत अन्य कुनै पार्टी वा व्यक्ति नरहेको जिकिर गरे ।

उनले भने,‘नेपालका केही नेताहरु भारतीय प्रधानमन्त्रीको चाकडी गर्छन, तर एमाले अध्यक्ष ओली उनीसँग आँखामा आँखा जुधाएर कुरा गर्ने हैसियत राख्छन जसको प्रमाण पछिल्लो पटक लामो समयदेखिको नाकाबन्दी खुलाउनु हो ।’

पोखरेलले नेपाल र भारतबिच मित्रवत व्यहार राख्ने क्षमता एमालेसँग मात्र रहेको बताउँदै पछिल्लो पटक चीनसँगको व्यापारिक मार्ग निर्माण गर्न समेत ओली नेतृत्वको सरकार सफल भएको दाबी गरे ।

पोखरेलले अध्यादेशमार्फत तराई मधेशमा रहेका नागरिकता समस्या समाधान गर्न एमालेले चाहँदा पनि विरोधी गठबन्धनले पुरा हुन नदिएको आरोपसमेत लगाए

कार्यक्रममा पार्टी सचिव रघुवीर महासेठले नेकपा एमाले विकासप्रेमी पार्टी रहेको दाबी गरे । उनले ओली नेतृत्वको सरकारमा आर्थिक उन्नति र विकासको लहर आएको बताए ।

उनले भने,‘२६० वर्षमा करीब साढे ६ हजार सडक बनेको थियो । तर, ओली नेतृत्वको सरकारले साढे तीन वर्षमै साढे पाँच हजारभन्दा बढी सडक र पुलपुलेसा निर्माण गरेको छ ।’