विर्तामोड, ३० फागुन । पाँचौं झापा गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले उचालेको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा–११ लाई २–१ ले पराजित गर्दै आर्मीले उपाधि रक्षा गरेको हो । ।

खेलको १८ औं मिनेटमा टेकबहादुर बुढाथोकीको गोलबाट आर्मीले अग्रता लिएको थियो । २१ औं मिनेटमा जर्ज प्रिन्स कार्कीले आर्मीको अग्रता दोब्बर बनाए ।

२४ मिनेटमा विमल घर्ती मगरले झापालाई २–१ को अवस्थामा ल्याए । त्यसपछि थप गोल हुन नसक्दा आर्मी विजेता बन्यो ।

आर्मीले चौथोपटक झापा गोल्डकपको उपाधि उचालेको हो । यसअघि उसले पहिलो, तेस्रो र चौथो संस्करणमा झापालाई नै हराउँदै उपाधि जितेको थियो ।

विजेता आर्मीले उपाधिसहित १२ लाख ५५ हजार प्राप्त गर्दा उपविजेता झापाले ६ लाख ५ हजार प्राप्त गरेको छ ।