काठमाडौं, ३० फागुन । नेकपा क्रान्तिकारी माओवादीले स्थानीय तहको निर्वाचन वहिस्कार गर्ने निर्णय गरेको छ ।

आगामी वैशाख ३० गते तोकिएको निर्वाचन वहिस्कार गर्ने निर्णय गरिएको हो ।

फागुन २५ देखि २९ गतेसम्म बसेको नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा महासचिव मोहन वैद्य किरणले “वर्तमान राजनीतिक परिस्थिति र हाम्रो कार्यभार” शीर्षकमा राजनीतिक प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावमा स्थानीय निर्वाचन बहिष्कार गर्ने नीति अवलम्बन गरिएकोमा बैठकले पारित गरेको छ ।

बैठकले एमसीसीको विरोध गर्दै यसविरुद्ध सशक्त विरोध तथा भण्डाफोरसहित राष्ट्रिय स्वाभिमान तथा सार्वभौमिकताको पक्ष र संझौताको खारेजीका लागि संघर्षलाई निरन्तर अगाडि बढाउने निर्णय पनि गरेको छ ।