पर्सा, ३० फागुन । पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले जनता समाजवादी पार्टी नेपालमा आफूमाथि दुर्व्यवहार हुने गरेकाले नेकपा एमालेमा प्रवेश गरेको बताएका छन् ।

जसपाभित्र आफूलाई सामाजिक रूपमा मानमर्दन गर्ने काम नरोकिएकोले नेकपा एमाले रोज्नुपरेको उनले स्पष्ट पारे ।

सरावगीले भने, ‘पूर्णरूपमा यो महानगरपालिका र पूरै पर्सा जिल्ला जिताएर पनि जुन ढंगले मलाई पार्टीले मलाई राख्नुपर्थ्यो, त्यो राखेन । म त राजनीतिक पृष्ठभुमिबाट आएको थिइनँ । म आर्थिक र सामाजिक पृष्ठभूमिबाट आएको व्यक्ति थिएँ । जनताले मलाई माया गरेर त्यतिबेला मेयरमा चुनाव पनि जिताए । मैले दुई पटक राजीनामा पनि दिएँ । राजीनामा दिदाँदिँदै पनि अध्यक्ष उपेन्द्र यादवजीले त्यतिबेला मलाई रोक्ने प्रयास धेरै गर्नुभयो । म रोकिएँ पनि । तर, लगातार मसँग दुर्व्यवहार भइरहे । र, यो कारणले गर्दा मैले एउटा नयाँ पार्टी रोजेँ ।’

सरावगीले एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रिय भावना र उनको विकासप्रतिको चाहनाबाट प्रेरित भएका कारण एमाले रोजेको पनि बताए ।

आफू कांग्रेस प्रवेश गर्ने विकल्प हुँदाहुँदै पनि कांग्रेसमा जनप्रतिनिधि बन्ने अवस्था नभएकाले कांग्रेस नरोजेको उनको भनाइ छ । मेयर सरावगीले एमालेमा कुनै पद पाउनका लागि सर्त गरेर नगएको पनि स्पष्ट पारे ।

उनले आगामी निर्वाचनमा पार्टीले मेयरको टिकट दिएर मेयर बन्न तयार रहेको पनि बताए । विगतमा आफूले जसपा छोड्न दुई पटक राजीनामा दिएपनि अध्यक्ष उपेन्द्र यादवले रोकेको उनले बताए ।