काठमाडौं, ३० फागुन । यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने उक्त प्रतियोगतामा सात टोली सहभागी हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

प्रतियोगितामा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती, मधेस, गण्डकी र प्रदेश नं १ को सहभागिता रहने छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमती तथा समूह ‘बी’ मा मधेस, गण्डकी र प्रदेश १ रहेका छन्। समूहको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

चैत ११ गतेसम्म चल्ने उक्त प्रतियोगिताको उद्घाटन खेल सुदूरपश्चिम र कर्णालीबीच चैत ६ गते हुनेछ ।