आरसिबीको नयाँ कप्तानमा डुप्लेसिस नियुक्त

एजेन्सी, २९ फागुन । इण्डियन प्रिमियर लिग (आइपिएल) को फ्रेन्चाइज टोली रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) ले आफ्नो नयाँ कप्तानमा दक्षिण अफ्रिकाका ब्याटर फाफ डुप्लेसिसलाई नियुक्त गरेको छ ।
यसअघि टोलीको कप्तानी भारतीय ब्याटर विराट कोहलीले गर्दै आएका थिए । उनले यही सिजनबाट कप्तानी छोड्ने घोषणा गरेपछि नयाँ कप्तानमा डुप्लेसिस नियुक्त भएका हुन् ।
३७ वर्षीय अनुभवी ब्याटर डुप्लेसिस लामो समयदेखि चेन्नाई सुपर किङ्ग्सबाट आइपिएल खेल्दै आएका थिए । यो सिजनका लागि आरसिबीले उनलाई मेगा अक्सनबाट ७ करोड भारुमा अनुबन्ध गरेको थियो ।
डुप्लेसिसलाई आरसीबीका अध्यक्ष प्रथामेश मिश्रा र क्रिकेट अपरेशन निर्देशक माइक हसनले भर्चुअल कार्यक्रममा कप्तानको जिम्मेवारी हस्तान्तरण गरेका थिए ।
डुप्लेसिसले हालसम्म आपिएलमा १०० खेल खेलिसकेका छन् । जसमा उनले २ हजार ९३५ रन बनाएका छन् । उनले गत सिजनमा चेन्नईलाई उपाधि दिलाउन ६३३ रन बनाएका थिए ।
डुप्लेसिसले सन् २०२० मा दक्षिण अफ्रिकाको सबै प्रारूपको क्रिकेटबाट कप्तानी छाडेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


