काठमाडौं, २९ फागुन । भारतमा आयोजना हुने साफ यु–१८ महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली टोली आज बिहान ११ः४० बजेको फ्लाइटमार्फत भारत प्रस्थान गरेको जानकारी दिएको हो ।

च्याम्पियनसिपका लागि यु–१८ टिमका मुख्य प्रशिक्षक दर्शन भक्तराज लावतले बिहीबार नै २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् ।

नेपाल, आयोजक भारत र बंगलादेश सहभागी च्याम्पियनसिप जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म हुनेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग खेल्नेछ । यो खेल मार्च १५ मा हुनेछ ।

दोस्रो खेलमा नेपालले १७ मार्चमा बंगलादेशको सामना गर्नेछ । उसले २१ मार्चमा भारतसँग तेस्रो तथा २३ मार्चमा बंगलादेशसँग चौथो तथा अन्तिम खेल खेल्नेछ ।

अंक तालिकाको शीर्ष स्थानमा रहने टोली प्रतियोगिताको विजेता बन्नेछ ।