जनकपुरधाम, २९ फागुन । मधेस प्रदेशमा गत वर्ष ६ सय भन्दा बढी कुष्ठरोगी भेटेका छन् ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य व्यवस्थापन सूचना केन्द्र (एचएमआईएस) का अनुसार गत आर्थिक वर्ष ०७७/०७८ मा मधेस प्रदेशका १३६ स्थानीय तहहरुमा ६७४ जना नयाँ कुष्ठरोगी भेटेका हुन् ।

यो कुल संक्रमित संख्याको ३४ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष ०७५÷०७६ मा देशभर ३ हजार २८२ नयाँ रोगी भेटिएकामा मधेश प्रदेशका ४५ प्रतिशत अर्थात् १ हजार ४८४ जना रहेका थिए । मधेश प्रदेशमा धनुषा र महोत्तरीमा कुष्ठरोगीको संख्या धेरै छ ।

‘एनएलआर नेपाल’ का उपनिर्देशक नन्द बाँस्तोलाले पछिल्लो १३ वर्षमा धनुषामा १७५ बालबालिकासहित १ हजार ६२६ जना र महोत्तरीमा २१८ बालबालिकासहित १ हजार ७७५ जना कुष्ठरोगका बिरामी भेटिएको तथ्यांक प्रस्तुत गरेका हुन् ।

सोमबार जनकपुरधाममा आयोजित जिल्लास्तरीय कुष्ठरोगसम्बन्धी योजना तर्जुमा तथा अभिमुखीकरण कार्यक्रममा उनले उक्त तथ्यांक सुनाएका थिए ।

उनले सन् २०२५ सम्ममा महोत्तरी र धनुषामा कुष्ठरोगको संक्रमणलाई ५० प्रतिशतले र सन् २०३० सम्ममा ९५ प्रतिशतभन्दा बढी न्यूनीकरण गर्ने लक्ष्य लिइएको पनि बताए ।

मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख विजय झाले नीति र रणनीति कमजोर हुँदा ४ हजार वर्ष पुरानो कुष्ठरोग अझै नियन्त्रण हुन नसकेको बताए ।