जनकपुरधाम २९ फागुन । नेपाली कांग्रेस धनुषाको अन्य पदाधिकारीहरुमा पनि विमलेन्द्र निधि समूहका उम्मेदवारहरु विजयी भएका छन् ।

१४औं अधिवेशन अन्तर्गत धनुषा जिल्लाको सम्पन्न मतगणनामा निधि समुहको तर्फबाट उपसभापतिद्वय गणेश झा र लक्ष्मी नारायण यादव निर्वाचित भएका छन् । झाले १ हजार १४९ र यादवले १ हजार २५४ मत पाएका छन् ।

देउवा समुहको तर्फबाट उपसभापति पदका उम्मेदवारहरु सुरेन्द्र प्रसाद मुन्नाले ७९८ र रामसोभित दाहा धानुकले ७६५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपसभापतिका अन्य प्रत्यासीहरु डाक्टर शेखर कोइराला समूहका गणेश प्रसाद जयसवालले ७०८ र हरिशंकर साहले ५९६ मत पाएका छन् ।

उता, नयाँ कार्यसमितिको सचिव पदमा भने निधि समूहकै कन्हैया कुमार कर्ण र देबेन्द्र कुमार भरखेर विजयी भएका हुन् । कर्णले १ हजार १६० र भरखेरले १ हजार १७७ मत ल्याएका छन् ।

देउवा समुहको तर्फबाट सचिव पदका उम्मेदवारहरु धिरेन्द्र मोहन झाले ८३३ र शिवशंकर गोइत साधुले ८३२ मत प्राप्त गरेका छन् ।

त्यस्तै, सह–सचिवमा पनि निधि समूहकै विजय कुमार यादवले १ हजार ४०७ र मो.साकिर राईनले १ हजार ७८ मत प्राप्त गरि जित हासिल गरेका छन् ।

यसअघि सभापतिमा विमलेन्द्र निधि पक्षका उम्मेदवार योगेन्द्र पजियार निर्वाचित भईसकेका छन् ।

गत शुक्रबार भएको दोस्रो चरणको मतदानमा संस्थापन पक्षका उम्मेदवार संतोष यादवलाई ६८९ मतान्तरले पराजित गर्दै पजियार जिल्ला सभापति चुनिएका हुन् ।

दोस्रो चरणको मतदानमा २ हजार ८१४ मत खसेको थियो । योगेन्द्रले १ हजार ७३५ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी संतोषले १ हजार ४६ मत पाए । ३३ मत भने बदर भएको थियो ।