जनकपुरधाम, २८ फागुन । मधेस प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोनाका कुनै नयाँ संक्रमित थपिएका छैनन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार २४४ जनाको परीक्षण गर्दा कुनै नयाँ संक्रमित फेला परेका छैनन् ।

पछिल्लो २४ घण्टामा प्रयोगशालाहरुमा २६ जनाको पिसिआर विधिबाट परिक्षण गर्दा शून्य जना, नाकाहरुमा १५२ जनाको एन्टिजेन टेष्ट किटबाट परिक्षण गर्दा शुन्य जना र स्थानीय तहहरुमा ६६ जनाको एन्टिजेन टेष्ट किटबाट परिक्षण गर्दा शून्य जना गरी कुल शंकास्पद २४४ जनाको परिक्षण गर्दा कुनै नयाँ संक्रमित फेला नपरेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मधेस प्रदेशमा पछिल्लो २४ घण्टामा ९ जना संक्रमणमुक्त भएका छन् । योसँगै मधेस प्रदेशमा हालसम्म ४० हजार ५३ जना संक्रमणमुक्त भएका छन् ।

यस प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४१ हजार ३९४ पुगेको छ भने मृत्यु हुनेको संख्या १ हजार ६२ पुगेको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार हाल प्रदेशभर सक्रिय संक्रमितको संख्या २७९ रहेको छ । जसमध्ये २७६ जना होम आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १ जना आइसियूमा र २ जना एचडियूमा उपचाररत् छन् ।

मृतक १ हजार ६२ मध्ये सप्तरीका १६१, सिरहाका १३७, धनुषाका १३२, महोत्तरीका ९१, सर्लाहीका ९३, रौतहटका १३०, बाराका १८२, पर्साका १३५ र १ जना भारतीय नागरिक छन् । जसमा पुरुष ७७१ र महिला २९१ रहेका छन् ।