काठमाडौं, २८ फागुन । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा वीरगञ्ज युनाइटेड र रानीपोखरी कर्नर टिम (आरसिटी) ले बराबरी खेलेका छन् ।

एन्फा कम्प्लेक्समा शनिबार भएको दोस्रो खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका हुन् ।

अग्रता जोगाउन नसक्दा वीरगञ्ज अंक बाँड्न बाध्य बन्यो । खेलको ३१ औं मिनेटमा विज्ञान चौधरीले गोल गर्दै वीरगञ्जलाई अग्रता दिलाएका थिए ।

४१ औं मिनेटमा अमर डंगोलले गोल गर्दै आरसिटीलाई १–१ गोलको बराबरीमा ल्याए ।

४७ औं मिनेटमा कृपाकान्त महतो थारुले गोल गर्दै वीरगञ्जलाई २–१ ले अघि बढाएका थिए ।

खेलको ८१ औं मिनेटमा आरसिटीका अमरले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २–२ को बराबरीमा सकिएको हो ।

यो बराबरीसँगै दुवै टोलीले ४ खेलबाट समान ५ अंक जोडेका छन् ।

लिग अन्तर्गत नै आज भएको पहिलो खेलमा बाँसबारी क्लबले मध्यपुर युथ एसोसिएसनमाथि ६–० को फराकिलो जित हात पारेको थियो ।