पर्सा, २८ फागुन । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

वीरगञ्जमा शनिबार आयोजित एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेयर सरावगीलाई पार्टी प्रवेश गराएका हुन् ।ओलीले सरावगीलाई दोसल्ला ओढाएर पार्टीमा स्वागत गरेका थिए ।

एमाले प्रवेश गरेका मेयर सरावगीले जसपाले जातिवादको राजनीति गरेको आरोप लगाएका छन् । उनले पार्टीले राम्रा मान्छेलाई टिकाएर राख्न नसकेको समेत बताए ।

उनले भने,‘जसपा छोड्ने कारणहरू छन् । त्यो सबैलाई थाहा छ, आम जनतालाई थाहा छ, एउटा राम्रो मान्छेलाई पार्टीले टिकाएर राख्न सकेन ।’

उनले जसपा छोड्नुको कारण खुलाउँदै भने ’अहिले पनि जातिवादको राजनीति भइरहेको छ । जातिवादको राजनीति गरेर राष्ट्रिय पार्टी हुन सकिँदैन । राष्ट्रिय पार्टी भनेको हाम्रो एमाले पार्टी नै हुन सक्छ ।’

एमालेमा प्रवेश गर्नु अगाडि उनी कांग्रेसमा प्रवेश गर्ने हल्ला थियो । उनले पूर्वमन्त्री एवं व्यवसायी मोती दुगडले अध्यक्ष ओलीसँग भेट गराएपछि एमालेमा प्रवेश गरेको खुलाए । उनले आफू एमाले अध्यक्ष ओलीबाट सुरुदेखि नै प्रभावित भएको भन्दै प्रशंसासमेत गरे ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए ।