जनकपुरधाम, २८ फागुन । नेपाली कांग्रेस धनुषाको सभापतिमा विमलेन्द्र निधि पक्षका उम्मेदवार योगेन्द्र पजियार निर्वाचित भएका छन् ।

शुक्रबार भएको दोस्रो चरणको मतदानमा संस्थापन पक्षका उम्मेदवार संतोष यादवलाई ६८९ मतान्तरले पराजित गर्दै पजियार जिल्ला सभापति चुनिएका हुन् ।

दोस्रो चरणको मतदानमा २ हजार ८१४ मत खसेको थियो । योगेन्द्रले १ हजार ७३५ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी संतोषले १ हजार ४६ मत पाएका छन् । ३३ मत भने बदर भएको छ ।

धनुषा क्षेत्र नम्बर १ मा ८०१ मतदाता मध्ये ६७१, क्षेत्र नम्बर २ मा ८३० मध्ये ६९६, क्षेत्र नम्बर ३ मा ७१० मध्ये ६३४, क्षेत्र नम्बर ४ मा ७०९ मध्ये ५७८ र अपांग समूहबाट २३५ मत खसेको थियो ।

यसअघि सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका तीन उम्मेदवारमध्ये सबभन्दा धेरै मत पजियारले नै ल्याएका थिए । तरपनि उनको पक्षमा बहुमत पुग्न सकेको थिएन ।

कुल ३ हजार १७३ मतदातामध्ये पहिलो चरणमा २ हजार ९१२ जनाले मतदान गरेका थिए ।

पजियारले १ हजार २४८ मत पाएका थिए भने संतोषले ८८२ र दिनेश प्रसाद प्रसैलाले ६३० मत पाए । त्यस्तै, १५१ वटा मत बदर भएको थियो ।

कुनै पनि उम्मेदवारले बहुमत नपाएपछि विधान अनुसार धेरै मत ल्याउने दुई जनाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भयो ।

योगेन्द्रलाई दिनेशको साथ

दोस्रो चरणको निर्वाचनमा योगेन्द्रलाई डाक्टर शेखर कोइराला पक्षका उम्मेदवार दिनेश प्रसैलाले साथ दिएपछि उनले संस्थापन पक्षका संतोष यादवलाई हराएर सभापति चुनिएका हुन् ।

प्रसैलाले समर्थन गर्नासाथ पजियारको जित सुनिश्चित जस्तै बनेको थियो ।

क्षेत्र नम्बर १
याेगेन्द्र पजियार : ३०५
संताेष यादव : ३५५
बदर मत : ११

क्षेत्र नम्बर २
याेगेन्द्र पजियार : ४६६
संताेष यादव : २२२
बदर मत : ८

क्षेत्र नम्बर ३
याेगेन्द्र पजियार : ५२२
संताेष यादव : १०४
बदर मत : ७

क्षेत्र नम्बर ४
याेगेन्द्र पजियार : ३०२
संताेष यादव : २७२
बदर मत : ५

अशक्त अपाङ्ग समूहतर्फ
याेगेन्द्र पजियार : १४०
संताेष यादव : ९३
बदर मत : २