जनकपुरधाम, २७ फागुन । नेपाली कांग्रेस धनुषाको १४ औँ अधिवेशनअन्तर्गत जिल्ला नेतृत्व चयनका लागि शुक्रबार सम्पन्न दोस्रो चरणको निर्वाचनको मतगणना जारी रहेको छ ।

निर्वाचन समितिका अनुसार राति करिव ११ बजेदेखि मतगणना सुरू भएको हो ।

दोस्रो चरणको निर्वाचनमा शुक्रबार २ हजार ८१४ जनाले मतदान गरेका थिए । काँग्रेस धनुषाको जिल्ला अधिवेशनका लागि ३ हजार १७३ प्रतिनिधि छनौट भएका थिए ।

काँग्रेस धनुषाको नयाँ नेतृत्वका लागि दोस्रो चरणमा योगेन्द्र पजियार र संतोष यादव निर्वाचनमा उत्रिएका छन् । निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालिले पहिलो चरणमै सभापति निर्वाचित हुन नसकेपछि दोस्रो चरणमा निर्वाचन भएको बताए ।

अहिले क्षेत्रगत रुपमा छुट्टाछुट्टै मतगणना भइरहेको छ । प्राप्त मतपरिणाम अनुसार क्षेत्र नम्बर ३,४ र २ को मतगणना सम्पन्न हुँदासम्म योगेन्द्र पजियारले १ हजार २९० र संतोष यादवले ५९८ मत पाएका छन् । त्यस्तै, २० मत बदर भएको छ ।

क्षेत्र नम्बर ४ को कूल ७०९ मतदातामध्ये ५७८, क्षेत्र नम्बर ३ को कूल ७१० मध्ये ६३४ र क्षेत्र नम्बर २ को ८३० मतदातामध्ये ६९६ जनाले मतदान गरेका थिए । अब क्षेत्र नम्बर १ को मतगणना भईरहेको छ ।