कांग्रेस धनुषा अपडेट : दोस्रो चरणको निर्वाचनमा २ हजार ८१४ मत खस्यो

जनकपुरधाम, २७ फागुन । नेपाली कांग्रेस धनुषाको नयाँ नेतृत्व चयनका लागि शुक्रबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा २ हजार ८१४ मत खसेको छ ।
कुल ३ हजार १७३ डेलिगेट्स मतदाता रहेकोमा ३५९ मत कम खसेको सहायक निर्वाचन अधिकृत रामगुलाम कर्णले जानकारी दिएका हुन् ।
धनुषा क्षेत्र नम्बर १ मा ८०१ मतदाता मध्ये ६७१, क्षेत्र नम्बर २ मा ८३० मध्ये ६९६, क्षेत्र नम्बर ३ मा कुल मतदाता ७१० मध्ये ६३४ र क्षेत्र नम्बर ४ मा कुल मतदाता ७०९ मध्ये ५७८ र अपांग समूहबाट २३५ मत खसेको हो ।
शुक्रबार सम्पन्न निर्वाचनको मतगणना आजै राति ९ बजेदेखि सुरु गर्ने तयारी छ । आजै रातिसम्म मतपरिणाम आउने बताइएको छ ।यसअघि सोमबार भएको पहिलो चरणको निर्वाचनमा २ हजार ९१२ मत खसेको थियो ।
पहिलो चरणमा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा निर्वाचन दोस्रो चरणमा गएको थियो । पहिलो चरणको मतपरिणाममा सभापतिका उम्मेदवार योगेन्द्र पजियार १ हजार २४८ मत ल्याउँदै अग्रस्थानमा थिए ।
सोमबार भएको निर्वाचनमा कुल ३ हजार १७३ मतदाता रहेकोमा २ हजार ९१२ जनाले मत खसालेका थिए । उक्त मतमध्ये योगेन्द्र पजियार अग्रस्थानमा रहँदै १ हजार २४८ मत ल्याएका थिए भने सभापतिका अर्का प्रतिद्वन्दी संतोष यादवले ८८२ र दिनेश प्रसैलाले ६३० मत मात्र प्राप्त गरेका थिए । १५१ वटा मत भने बदर भएको थियो ।
धनुषाको चारवटै क्षेत्रको सार्वजनिक भएको पहिलो चरणको मत परिणामले कुनै उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरेकोमा चुनाव दोस्रो चरणमा भएको हो ।
चुनावी प्रतिस्पर्धामा दिनेश प्रसैला बाहिरिएकोमा अब योगेन्द्र पजियार र संतोष यादवबीच प्रतिस्पर्धा हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


