काठमाडौं, २७ फागुन । अभ्यास खेलका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोली चौथो तथा अन्तिम खेलमा पराजित भएको छ । नेपाल शुक्रबार सम्पन्न खेलमा श्रीलंका संयुक्त–११ सँग ९२ रनले पराजित भएको हो ।

२३३ रनको लक्ष्य पछ्याएको नेपाल ३५.२ ओभरमा १४० रनमा समेटिएको छ । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान दिए । कुशल भुर्तेलले ३२ र रोहितकुमार पौडेलले २१ रन बनाए ।

श्रीलंका संयुक्त–११ का एस दक्सिनाले ३ दिलसान मुनविराले २, एस प्रशन्न, डि अवादत र सादुन विराक्कोडीले १–१ विकेट हात पारे ।यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंका संयुक्त–११ ले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३२ रन बनाएको थियो ।

श्रीलंका लागि अनुका फर्नान्डोले ५६ रनको अर्धशतकीय पारी खेल्दा सादुन विराक्कोडी ४९ र कुमार स्वामीले ३० रनको योगदान दिए ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सागर ढकालले ३–३, सोमपाल कामीले २ तथा आरिफ शेख र कप्तान सन्दीप लामिछानेले १–१ विकेट हात पारे ।

यसअघिका अभ्यास खेलमा नेपालले श्रीलंका नेभी स्पोर्ट्स क्बललाई १११ र ८१ तथा श्रीलंका पुलिसलाई १४४ रनले पराजित गरेको थियो ।
नेपालले आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरूप श्रीलंका भ्रमण गरेको हो । नेपालले आगामी सिरिज यूएईमा खेल्दै छ ।

नेपाली टोली श्रीलंकाबाटै मार्च १४ मा युएई प्रस्थान गर्ने छ । नेपालले लिग दुई अन्तर्गतको आफ्नो तेस्रो सिरिज युएई र पपुवा न्युगिनी (पिएनजी) विरुद्ध खेल्नेछ ।