काठमाडौं, २७ फागुन । सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत शुक्रबारको पहिलो खेलमा नयाँबस्ती युथ क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नयाँबस्तीले ब्वाइज युनियन क्लबमाथि ३–२ को रोमाञ्चक जित हात पारेको हो ।

खेलको १७ औं मिनेटमा सुमन योग्यले गोल गर्दै नयाँबस्तीलाई अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा ब्वाइज युनियनका विनोद राईले खेललाई १–१ को बराबरीमा ल्याए ।

५० औं मिनेटमा दिवस मास्केले गोल गर्दै ब्वाइज युनियनलाई २–१ ले अघि बढाए । ६९ औं मिनेटमा रोशन आङदेम्बेले नयाँबस्तीलाई २–२ को बराबरीमा ल्याएका थिए ।

८२ औं मिनेटमा सोम थापाले गोल गरेपछि नयाँबस्तीले ३–२ को रोमाञ्चक जित हात पारेको हो ।

यो जितसँगै नयाँबस्तीले ४ खेलमा ६ अंक जोड्दा पराजित ब्वाइज युनियनको समान खेलबाट ३ अंक छ ।