एजेन्सी, २६ फागुन । च्याम्पियन्स लिगको अन्तिम–१६ को दोस्रो लेगमा जित हात पार्दै स्पेनिस क्लब रियल मड्रिड क्वार्टरफानइनलमा प्रवेश गरेको छ ।

रियलले आज बिहान सम्पन्न खेलमा १ गोलले पछि परेको अवस्थालाई उल्टाउँदै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ३–१ तथा समग्रमा ३–२ ले हराउँदै अन्तिम–८ को यात्रा तय गरेको हो ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा रियललाई जिताउन कप्तान करिम बेन्जिमाले ह्याट्रिक पूरा गरे । पिएसजीका लागि केलियन एमबाप्पेले मात्र एक गोल फर्काउन सके ।

खेलको ३४ औं मिनेटमा एमबाप्पेले गोल गरे पनि अफसाइड ठहरिँदा त्यसले मान्यता पाएन । ३९ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

६१ औं मिनेटमा बेन्जिमाले खेललाई १–१ को बराबरीमा ल्याए । ७६ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै रियललाई २–१ ले अघि बढाए ।

७८ औं मिनेटमा बेन्जिमाले ह्याट्रिक पूरा गर्दै टोलीलाई ३–१ को सहज जित दिलाए । पहिलो लेगमा पिएसजी १–० ले विजयी भएको थियो ।