एजेन्सी, २६ फागुन । पन्जाब प्रान्तमा आम आदमी पार्टीले अप्रत्यासित सफलता प्राप्त गर्ने देखिएको छ । मतगणनाको सुरुवाती रुझानमा आम आदमी पार्टी विजयउन्मुख देखिएको छ । त्यस्तै, कंग्रेसले पार्टीले केवल १४ सिटमा अग्रता कायम गरेको छ ।

११७ सिट भएको पन्जाबमा आम आदमी ९१ सिटमा अगाडि देखिएको भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ ।

पन्जाबमा आम आदमी पार्टीको उदयले देशकै सबैभन्दा पुरानो पार्टी कंग्रेसलाई ठूलो धक्का लागेको छ । पन्जाबमा आम आदमीको विजय निश्चत भएसँगै अरविन्द केजरीवालका लागि दिल्लीबाहिर पहिलो ठूलो सफलता हुनेछ ।

पन्जाबमा आम आदमी पार्टीले भागवन्त सिंह मनलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएको छ । ४८ वर्षीय मन सन् २०१४ मा आम आदमी पार्टीमा प्रवेश गरेका थिए ।

सन् २०१९ को निर्वाचनमा पन्जाबबाट लोकसभा चुनाव जित्ने आम आदमी पार्टीका एक मात्र उम्मेदवार हुन् ।

बिहीबार पाँच वटा राज्यमा विधानसभा चुनावको मतगणना जारी छ । उत्तर प्रदेश, उत्तराखण्ड, पन्जाब, गोवा र मणिपुरमा मतगणना भइरहेको छ ।