काठमाडौं, २६ फागुन । नेपाली कथानक चलचित्र ‘हेल्लो जिन्दगी’मा समावेश ‘कता–कता’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ ।

गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर, एभरेस्ट सूर्य बोहराको शब्द र एलिस कार्कीको संगीत छ । बलिउडका कोरियोग्राफर विष्णु देवाले कोरियोग्राफी गरेको गीतको भिडियोमा अभिनेता विक्रम डि जोशी र अभिनेत्री दीपीका प्रसाईं फिचर छन् ।

युकेका विभिन्न रमणीय स्थानमा खिचिएको गीतमा प्रेमी जोडीको प्रेमाभाव प्रस्तुत गरिएको छ ।

एभरेस्ट सूर्य बोहरा निर्देशित चलचित्रमा विक्रम र दीपीकाका साथमा प्रियंका कार्की, विल्सनविक्रम राई, विक्रान्त वस्नेत, निर्देशक बोहरा स्वयम्, सविता गुरुङ, सनमकुमार बैराग, विभिया श्रेष्ठ, जानकी पन्त (जुन), ध्रुव दत्त, कुमुद पन्तलगायतको अभिनय छ ।

सत्य घटनाबाट प्रभावित फिल्मको निर्माता विक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सविता गुरुङ छिन् ।

चलचित्र ११ चैतमा प्रदर्शनमा आउनेछ ।