कांग्रेस धनुषा : दोस्रो चरणको निर्वाचनमा प्रसैलाको समर्थन पजियारलाई

जनकपुरधाम, २५ फागुन । नेपाली कांग्रेस धनुषाको बिहीबार हुने दोस्रो चरणको निर्वाचनमा डाक्टर शेखर कोइराला समूहले विमलेन्द्र निधि समूहलाई समर्थन गर्ने निर्णय गरेको छ ।
चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका शेखर कोइराला समूहका सभापतिका उम्मेदवार दिनेश प्रसाद प्रसैला यादवले अन्ततः निधि समूहका उम्मेदवार योगेन्द्र पजियारलाई समर्थन गरेका हुन् ।
बुधबार साँझ जनकपुरधामस्थित विमलेन्द्र निधिको निवासमा पत्रकार सम्मेलनको आयोजना गरी शेखर कोइराला समूहका नेता रामकृष्ण यादवले आफूहरुले निधि समूहका उम्मेदवार योगेन्द्र पजियारलाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिए ।
नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले दोस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा दिनेश प्रसैलाले आफ्ना उम्मेदवार योगेन्द्र पजियारलाई समर्थन गरेकोमा धन्यवाद दिएका छन् ।

उनले दिनभरीको आन्तरिक छलफलपश्चात अबेर साँझ सहमति जुटेको बताए । उनले निर्वाचनपश्चात जिल्लाको दिर्घकालिन राजनीतिक गतिविधिमा सहकार्य र सहमतिमार्फत नै अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
सभापतिका लागि मंगलबार अबेर राती भएको मतगणनामा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा दोस्रो चरणमा बिहीबार बिहान पुनः निर्वाचन हुन लागेको छ ।
पहिलो चरणको मतपरिणाममा सभापतिका उम्मेदवार योगेन्द्र पजियार १ हजार २४८ मत ल्याउँदै अग्रस्थानमा थिए । सोमबार भएको निर्वाचनमा कुल ३ हजार १७३ मतदाता रहेकोमा २ हजार ९१२ जनाले मत खसालेका थिए । उक्त मतमध्ये योगेन्द्र पजियार अग्रस्थानमा रहँदै १ हजार २४८ मत ल्याएका थिए भने सभापतिका अर्का प्रतिद्वन्दी संतोष यादवले ८८२ र दिनेश प्रसैलाले ६३० मत मात्र प्राप्त गरेका थिए ।

धनुषाको चारवटै क्षेत्रको सार्वजनिक भएको पहिलो चरणको मत परिणामले कुनै उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरेकोमा चुनाव दोस्रो चरणमा गएको हो ।
प्रसैलाले पजियारलाई समर्थन गरेसँगै उनको जित लगभग सुनिश्चित भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


