जनकपुरधाम, २५ फागुन । काठमाण्डौं विश्वविद्यालयले जानकी कलेज फर प्रोफेशनल स्टडिजको सहकार्यमा मधेस प्रदेशको राजधानी जनकपुरधाममा ब्याचलर अफ टेक्निकल एजुकेशन ईन इन्फर्मेशन टेक्नोलोजी (बीटेकएडआईटी) नामक ४ वर्षे स्नातक कार्यक्रमको शुरुवात गरेको छ ।

यसको औपचारिक घोषणा बुधबार जनकपुरधाममा आयोजित एक कार्यक्रमका बिच गरिएको छ । जानकी कलेज नेपालको पहिलो आईटी कलेज लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको सहयोगी संस्था हो ।

बीटेकएडआईटी कार्यक्रमको उद्देश्य सुचना प्रविधीको क्षेत्रमा प्राविधीक शिक्षक तयार गर्नु रहेको छ ।

चार वर्षे बीटेकएडआईटीको कार्यक्रमलाई ८ सेमेस्टरमा विभाजित गरिएको छ । कार्यक्रमको कुल भार १३८ क्रेडिट आवर रहेको छ ।

यो कार्यक्रम जनकपुरधामको पहिलो स्मार्ट विद्यालय अक्षर विद्या मन्दिरको परिसरमा सञ्चालन हुनेछ । यस कार्यक्रममा भर्ना हुने विद्यार्थीले इन्टर्नसिपको लागी दोश्रो वर्षदेखि नै विद्यालयहरुमा अध्यापन गराउन जानुपर्ने छ । यसले अहिले नेपाल सरकारले सञ्चालन गरेको ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई पनि सार्थक तुल्याउने छ ।

चार वर्षे बीटेकएडआईटीमा भर्ना हुनको लागी कुनै पनि संकायबाट १२ कक्षा वा सो सरह वा सिटिइभीटीले सञ्चालन गरेको ३ वर्षे डिप्लोमा उत्तिर्ण गरेको हुनुपर्ने छ । विद्यार्थीहरुको छनौट काठमाण्डौं विश्वविद्यालयले सञ्चालन गरेको प्रवेश परिक्षाको आधारमा गरिने जनाइएको छ ।

कलेजका अध्यक्ष पंकज जालानले मधेश प्रदेशको साक्षरता र शैक्षिक स्तरमा वृद्धि गर्नका लागि जानकी कलेजको स्थापना यस प्रदेशको शिक्षाको क्षेत्रमा नयाँ युग हुने धारणा राखेका थिए । यस प्रदेशका जेहेन्दार विद्यार्थीले जनकपुरधाममै बसेर काठमाण्डौं विश्वविद्यालयले सञ्चालन गरेको सुचनाप्रविधीसँग सम्बन्धित स्नातक स्तरको कार्यक्रममा पढ्न पाउने उनले जानकारी दिए ।

काठमाण्डौं विश्वविद्यालयका स्कुल अफ एजुकेशनका डिन बालचन्द्र लुईटेलले हाल प्राविधिक शिक्षालयहरुमा अध्यापन गराउने शिक्षकहरुको अभाव कम गर्न यस कार्यक्रमले ठुलो मद्दत पुर्याउने विश्वास व्यक्त गरे ।

जानकी कलेजका अध्यक्ष पंकज जालानको अध्यक्षता र मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साह, विश्वविद्यालयको तर्फबाट स्कुल अफ एजुकेशनका डिन बालचन्द्र लुईटेल र स्टीम शिक्षाको हेड अफ द डिपार्टमेन्ट विनोद पन्त लगायतको सहभागिता रहेको थियो ।