एजेन्सी, २५ फागुन । इथियोपियामा खडेरीका कारण ठूलो संख्यामा नागरिक विस्थापित भएका छन् । साथै, यहाँका लाखौँ पशु चौपाया पनि मरेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघका अनुसार यहाँका ८ लाख ४५ हजार मानिस विस्थापित भएका हुन् । उनीहरू खडेरीका कारण खाद्यान्न खोज्ने क्रममा विस्थापित हुन पुगेका संयुक्त राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघीय प्रवक्ता स्टेफान डुजारिकले इथियोपिया सरकारले यसका लागि काम त गरिरहेको तर पनि नागरिकहरू विस्थापित हुने र त्यहाँबाट खाद्यान्न र आश्रयका लागि अन्यत्र जान लागेका बताएका छन् । उनले यहाँका १५ लाखभन्दा बढी पशु चौपाया पनि मरेको जानकारी दिए ।

संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सीले काम गरिरहेको तर आवश्यक मात्रामा उनीहरूलाई सहयोग पु¥याउन नसकिएको पनि राष्ट्रसंघले जनाएको छ ।

साथै, संयुक्त राष्ट्रसंघले यहाँका कतिपय स्थानमा मानवीय सहायता वितरण भइरहेको भए पनि सो पर्याप्त नभएको बताएको छ ।