जनकपुरधाम, २५ फागुन । नेपाली कांग्रेस धनुषाको भोली बिहीबार हुने दोस्रो चरणको निर्वाचनमा कसलाई सहयोग गर्ने भन्ने बिषयमा धारणा बनाउन दिनेश प्रसाद प्रसैला यादव समूहको पदाधिकारी बैठक बसिरहेको छ ।

निर्वाचनको मतपरिणामअनुसार दिनेश प्रसाद प्रसैला यादव चूनावी प्रतिस्पर्धाबाट बाहिरिएका हुन् ।

चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका प्रसैलाले आफ्नो समूहको पहिलो चरणको आन्तरिक बैठक सम्पन्न भएपनि कुनै निर्णय नभएको र अर्को चरणको बैठक दिउँसो ३ बजे पुनः बस्ने जानकारी दिए ।

यता, स्रोतका अनुसार दिनेश प्रसैलाले संतोष यादवलाई समर्थन गर्ने निर्णय गरेका छन् । उनले कांग्रेस धनुषाको क्षेत्रीय प्रतिनिधि, वडा सभापतिलगायत नेता कार्यकर्ताको भावना अनुसार यादवलाई समर्थन गर्ने निर्णय गरेका हुन् । यद्यपी यससम्बन्धमा भने औपचारिक निर्णय दिउँसो ३ बजे बस्ने अर्को बैठकले गरिने भएको छ ।

सभापतिका लागि मंगलबार अबेर राती भएको मतगणनामा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा दोस्रो चरणमा बिहीबार पुनः निर्वाचन हुन लागेको छ ।

पहिलो चरणको मतपरिणाममा सभापतिका उम्मेदवार योगेन्द्र पजियार मत ल्याउँदै अग्रस्थानमा रहेका छन् ।

सोमबार भएको निर्वाचनमा कुल ३ हजार १७३ मतदाता रहेकोमा २ हजार ९१२ जनाले मत खसालेका थिए । उक्त मतमध्ये योगेन्द्र पजियार अग्रस्थानमा रहँदै १ हजार २४८ मत ल्याएका छन भने सभापतिका अर्का प्रतिद्वन्दी संतोष यादवले ८८२ मत ल्याएका छन् । त्यस्तै, दिनेश प्रसैलाले ६३० मत मात्र प्राप्त गरेका छन् ।

धनुषाको चारवटै क्षेत्रको सार्वजनिक भएको पहिलो चरणको मत परिणामले कुनै उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरेकोमा चुनाव दोस्रो चरणमा गएको हो ।

चुनावी प्रतिस्पर्धामा दिनेश प्रसैला बाहिरिएकोमा अब योगेन्द्र पजियार र संतोष यादवबीच प्रतिस्पर्धा हुनेछ ।