जनकपुरधाम, २५ फागुन । नेपाली कांग्रेस धनुषाको सभापतिका लागि मंगलबार अबेर राती भएको मतगणनामा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन सकेका छैनन् ।

कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा निर्वाचन दोस्रो चरणमा गएको हो । पहिलो चरणको मतपरिणाममा सभापतिका उम्मेदवार योगेन्द्र पजियार १ हजार २४८ मत ल्याउँदै अग्रस्थानमा रहेका छन् ।

सोमबार भएको निर्वाचनमा कुल ३ हजार १७३ मतदाता रहेकोमा २ हजार ९१८ जनाले मत खसालेका थिए । उक्त मतमध्ये योगेन्द्र पजियार अग्रस्थानमा रहँदै १ हजार २४८ मत ल्याएका छन भने सभापतिका अर्का प्रतिद्वन्दी संतोष यादवले ८८२ मत ल्याएका छन् । त्यस्तै, दिनेश प्रसैलाले ६३० मत मात्र प्राप्त गरेका छन् । १५८ वटा मत भने बदर भएको छ ।

अव दोस्रो चरणको लागि मतदान हुने निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए ।

धनुषाको चारवटै क्षेत्रको सार्वजनिक भएको पहिलो चरणको मत परिणामले कुनै उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरेकोमा चुनाव दोस्रो चरणमा गएको हो ।

निर्वाचन अधिकृत ज्ञवालीले चुनाव दोस्रो चरणमा गएको जानकारी दिएका छन् । उनले पुनः दोस्रो चरणको निर्वाचन हुने बताए । चुनावी प्रतिस्पर्धामा दिनेश प्रसैला बाहिरिएकोमा अब योगेन्द्र पजियार र संतोष यादवबीच प्रतिस्पर्धा हुनेछ ।

अब हुने दोस्रो चरणको निर्वाचनमा कसले वाजी मार्ला हेर्न रोचक हुनेछ । तथापी योगेन्द्र पजियारतर्फ मत आकर्षित हुन सक्ने केहि नेताको आँकलन छ ।