कांग्रेस धनुषा अपडेट : ७४८ मत मात्र गन्न बाँकी, योगेन्द्र अग्रस्थानमा

जनकपुरधाम, २४ फागुन । नेपाली कांग्रेस धनुषाको नयाँ नेतृत्वका लागि जारी मतगणनामा विमलेन्द्र निधि समूहबाट सभापतिका उम्मेदवार योगेन्द्र पजियार ४४९ मतले अगाडी रहेका छन् ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ३, ४ र २ को मतगणना समाप्त भएको छ भने अब क्षेत्र नम्बर १ को मतगणना गर्न मात्र बाँकी रहेको छ ।
अहिलेसम्म २ हजार १६४ मतगणना गर्दा योगेन्द्र पजियारले ९८९, सन्तोष यादवले ५४० र दिनेश प्रसैलाले ५२९ मत प्राप्त गरेका छन् । त्यस्तै, १०६ मत बदर भएको छ ।
मतगणनाका क्रममा सभापतिका लागि सबै भन्दा अगाडी योगेन्द्र पजियार छन् भने सन्तोष यादव देस्रो र दिनेश प्रसैला तेस्रो स्थानमा रहेका छन् ।
सोमबार अबेर राति सम्पन्न निर्वाचनको मतगणना राति नै सुरु हुने भनिएपनि विभिन्न आन्तरिक समस्याका कारण मंगलबार दिउँसोबाट सुरु भएको हो । अब करिव एक घण्टामा मतपरिणाम आउने निर्वाचन समितिले जनाएको छ ।
जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा सोमबार भएको मतदानमा २ हजार ९१२ जनाले मतदान गरेका थिए । धनुषा काँग्रेसका ३ हजार १७३ मतदाता रहेका छन् ।
धनुषाको क्षेत्र नम्बर १ बाट ८०१ मध्ये ७५३ मत, क्षेत्र नम्बर २ बाट ८३० मध्ये ८०० मत, क्षेत्र नम्बर ३ बाट ७१० मध्ये ६६८ र क्षेत्र नम्बर ४ बाट ७०९ मध्ये ६९१ मत खसेको थियो ।
निर्वाचनमा ५१ प्रतिशत मत ल्याउने उम्मेदवारले चुनाव जित्ने काँग्रेसको विधानमा व्यवस्था छ । ५१ प्रतिशतभन्दा कम मत ल्याएमा अथवा बराबर मत ल्याएमा दोस्रो पटक निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।
सभापति पदका लागि तीन जना आकांक्षी उम्मेदवारी कडा प्रतिस्पर्धा देखिएकाले दोश्रो चरणको निर्वाचन हुनसक्ने सम्भावना प्रबल रहेको काँग्रेसीजनमा चर्चा छ ।
धनुषा काँग्रेसको सभापतिमा ३, दुई उपसभापतिका लागि ६, दुई सचिवका लागि ९ र दुई जना सहसचिवका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । सभापतिमा योगेन्द्र पजियार, दिनेश प्रसैला र सन्तोष यादवबीच प्रतिस्पर्धा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


