काठमाडौं, २४ फागुन । कोरोना भाइरसलाई श्वासप्रश्वास प्रणालीमा असर गर्ने भाइरसका रूपमा लिइएको थियो । तर यसले श्वासप्रश्वास प्रणालीमा मात्र नभएर मुटु, तन्तु तथा स्नायु प्रणालीमा पनि असर गर्ने देखिएको छ ।

त्यस्तै दीर्घ रोगीहरूको मृत्युको कारण भाइरस बनेको देखिन्छ । विशेषगरी मुटुरोगी, मधुमेहलगायतका रोगीहरूलाई संक्रमण हुँदा मृत्युसम्मको जटिल परिस्थिति निम्तिएको हो ।

पछिल्लो अध्ययनबाट कोरोना संक्रमणले रगतमा चिनीको मात्रा उच्च पार्ने देखिएको छ ।

कोभिडले किन मधुमेह निम्त्याउँदैछ ?

मासाचुसेट्स विश्वविद्यालयका अध्ययनकर्ताहरूले गरेको खोजअनुसार कोभिड संक्रमणपछि धेरै जनाले रगतमा चिनीको मात्रा बढेको बताएका छन् । हुनत यो अल्पकालिन अवस्था हो । यसले मधुमेह सीधै हुने नभई मधुमेहको सुरुवाती चरणमा भने धकेल्ने अध्ययनकर्ताले बताएका छन् । मधुमेह हुन सक्ने तर देखा नपर्ने बताइएको छ ।

यस किसिमका बिरामीहरूलाई इन्सुलिन वा यस किसिमका औषधोपचार गरेर निको पार्न सकिने बताइएको छ । कोभिडबाट निको भएको बेला रगतमा चिनीको मात्रा बढी देखिए पनि पछि औषधीको प्रयोगपछि उच्च मात्रा घटेर जाने अध्ययनकर्ताहरूले बताएका छन् ।

यस्ता छन् लक्षण

कोभिडबाट निको भएकामा तिर्खा लाग्ने, थकान महसुस हुने लगायतका लक्षण देखिने बताइएको छ । त्यस्तै खानामा अरुचि हुने, वजन घट्ने, बारम्बार पिसाब लाग्ने, यौनाङ्ग वरपर चिलाउने तथा मधुरो वा धमिलो देख्ने लक्षण हुने अध्ययनले देखाएको छ ।

कोभिडबाट भर्खरै निको भएर यस किसिमका लक्षणहरू देखिए तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्ने विज्ञहरूले सुझाएका छन् ।

–लाइभमिन्ट डटकम