काठमाडौं, २३ फागुन । सांसदहरुले चिकित्सा शिक्षा आयोगका पदाधिकारीको राजीनामा माग गरेका छन् ।

सोमबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सांसदहरुले नोबेल मेडिकल कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुको समस्या समाधानमा बेवास्ता गरेको भन्दै राजीनामा माग गरेका हुन् ।

नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा आन्दोलन गर्दा पनि सम्बोधन नगरेपछि उही शुल्कमा अध्ययन गर्न बाध्य भएको र अहिले कलेजले छात्रबासमा नबसे अनुत्तीर्ण गराइदिने धम्की दिएको भन्दै १० विद्यार्थीले कलेज स्थानान्तरणको माग गर्दै आयोगमा निवेदन दिएका थिए । उक्त निवेदन परेपछि पनि आयोगले समस्याको समाधान नखोजेको भन्दै सांसदहरुले पदाधिकारीको राजीनामा माग गरेका हुन् ।

आयोगको एकीकृत प्रवेश परीक्षाबाट योग्यता क्रममा परेर चिकित्सा शिक्षा अध्ययनका लागि कलेजले अतिरिक्त शुल्क लिएको कुरा उठाउँदा विद्यार्थीलाई विभिन्न डर, धम्की आइरहेको र राज्यका नीति नियम निर्देशन पालना नहुने भएकाले अन्यत्र सार्वजनिक शिक्षण संस्थामा स्थानान्तरणको माग गर्दै आएका छन् । तर सोमबारको समितिको बैठकले नोबेलमा नै पढ्ने वातारण बनाउन निर्देशन दिएको छ ।